बज्रपात माथि बज्रपात
सुरेन्द्र फुयाल
जोखिमपूर्ण अवस्थामा काम गर्नु पर्ने र कहिलेकाहिं दुर्घटनामा मृत्यु हुने गरेका खबर नरोकिएपनि दैनिक १५ सयको हाराहारीमा नेपाली युवायुवती पूर्वी एसिया र खाडीका कतिपय देशहरुतर्फ जाने गरेको वैदेशिक रोजगार विभागको भनाइ छ।
वैदेशिक रोजगारीमा गएका लाखौं युवाले पोहोर साल साढे चार खर्ब रुपैंया घर पठाएको सरकारी आंकडाले देखाउँछ।
नुवाकोटको थानसीङ गाउँका ३५ वर्षिय राजु नेपाली पनि गत मंसीरमा ऋणको जोहो गरेरै भए पनि केही पैसा कमाउने र घरको आर्थिक अवस्था सुधार्ने उद्देश्य लिएर कतार गएका थिए।
तर दुई महिना नबित्दै कतारको दोहामा सुतीरहको अवस्थामा उनी मृत भेटिए।
त्यसपछि उनको परिवारको सपना पनि चकनाचुर हुनपुग्यो।
छोराहरुको विदेशमा मृत्यु भएपछि उनको परिवार गहिरो शोकमा डुबेको छ।
उनको गाउँ थानसीङ नुवाकोट जिल्लाको ककनीदेखि उत्तरपट्टीको भिरालो पाखाको पुछारतिर लिखु खोला नजिकै पर्दछ।
नेपालका लगभग २५ लाख युवायुवती वैदेशिक रोजगारीमा गएको बताइन्छ।
तर थानसीङका गणेशबहादुर र रामकुमारीको परिवारमाथि बज्रपात माथि बज्रपात थपिएको छ।
थानसीङको पुछारतिर पर्ने एक तल्ले, टिनले छाएको घरमा राजुकी आमा रामकुमारी केहि दिनअघि टोलाएर बसिरहेकी थिइन्।
आफ्नो परिवारमा आइपरेको संकटबारे बीबीसी नेपाली सेवासंग कुरा गर्ने क्रममा उनी धेरै पटक भक्कानिएर रोइन्।
उनले आँसुका धारा बगाउँदै भनिन्, “(राजु) दोहामा विमानस्थलमा काम गर्छु, सबै राम्रो छ भन्थ्यो, तर सुतेको अवस्थामा उ खसेछ - के भएको होला, मुटु पो फुट्यो की?”
तीन वर्षअघि रामकुमारीको माइलो छोरा २६ वर्षका रामकुमारको मलेसियामा काम गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो।
“हामीले कति पीडा खप्नु, बोझमाथि बोझ थपिएको छ बाबु, तर के गर्नु रोएर केही हुदो रहेनछ।”
रामकुमारीका छोराहरु जस्तै नेपालबाट कामका लागि विदेशिएका युवाले पठाउने रकम वा विप्रेषण (रेमिटेन्स्)ले देशको अर्थतन्त्रलाई राम्रै राहत दिएको देखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थीक वर्षको पहिलो सात महिनामा नेपालमा ३ खर्ब १२ अर्ब रुपैंया विप्रेषण भित्रिएको थियो।
वैदेशिक रोजगार विभागका अनुसार विधि प्रक्रिया पुरा गरेर विदेश गएका कामदारको रोजगारीका सिलसिलामा विदेशमै निधन भएमा तिनको परिवारले विमा बापतको रकम र केही राहत रकम समेत पाउंछन्।
राजु नेपालीको मृत्युले पुर्याएको क्षतिको कुनै मूल्यमा पूर्ती हुन नसक्ला।
तर रामकुमारीकी विधवा बुहारी सुनीता र शोकाकुल श्रीमान गणेशबहादुर त्यस्तो विमा र राहत बापत पाइने रकमका निम्ती राजधानी काठमाण्डूमा सरकारी कार्यालयहरु धाइरहेका छन्।
राजु नेपालीकी विधवा सुनीताले हप्तौंको दौडधुपछि विमा र सरकारी राहतबापत केहि लाख रकम मिल्न लागेको बताइन्।
“विमा बापत सात लाख रुपैंया र सरकारबाट एक लाख जति आउँछ रे, तर हाम्रो हात परेको छैन।”
विप्रेषणको तितो यथार्थ के हो भने विदेशमा जोखिमपूर्ण काम वा कामपछि आराम गर्ने क्रममा कयौं नेपाली युवाको मृत्यु हुने गरेको छ।
दैनिक सरदर ३ वटा कामदारको शव विदेशबाट नेपाल आउने गरेको अधिकारीहरु बताउँछन्।
थानसीङकी रामकुमारीका पाँच मध्ये दुई छोराको विदेशमा मृत्यु भएपछि उनी भन्छिन्, “बरु यही माँगेर खाने सल्लाह दिन्छु, तर बाँकी तीन छोराहरुलाई अब म विदेश पठाउँदिन।”
साभार: बीबीसी नेपाली सेवा, सुरेन्द्र फुयाल, एप्रिल २०१४
14.04.14 NST / April - 2014
No comments:
Post a Comment